News Griha :: न्यूजगृह
‘रामकुमारी झाँक्रीको अभिव्यक्ति सामान्य विषय हो, ठूलो इस्यु नबनाउँ’

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले एनआरएनए महाधिवेशनमा गरेको भाषणले अहिले माहोल तात्तिएको छ ।

उनको समर्थन र विरोधमा बाँडिएका छन् । केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् । एनआरएनए अध्यक्ष कुल आचार्य भने झाँक्रीको अभिव्यक्तिबाट खासै उद्वेलित छैनन् । यसलाई सामान्य विषय भन्दै उनले ठूलो इस्यु नबनाऊँ भन्छन् । 

‘उहाँ (रामकुमारी झाँक्री) स्पष्ट वक्ता हो । उहाँले आफूलाई लागेको कुरा बोल्नुभएको छ । यसमा आपत्ति जनाउनुपर्ने कुरा केही पनि छैन । मिडियाले पनि ठूलो इस्यु नबनाउँदा राम्रो हुन्छ,’ उनले नेपाल भने ।

बेलायतबाट आएका एक जना प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी भएको भन्दै आचार्यलाई ‘फाँसी हुनसक्ने’ चेतावनी दिएका थिए । यस्तो अराजक अभिव्यक्तिबाट झाँक्री क्रोधित बनेकी थिइन् ।

यस विषयमा ती महाधिवेशन प्रतिनिधिले आचार्यलाई भेटेरै माफी मागिसके । बोल्दाबोल्दै मुखबाट निस्किहाल्यो भन्दै उनले क्षमायाचना गरेको आचार्यले बताए ।

‘उहाँले मसित माफी मागिसक्नुभयो । यसलाई मैले ठूलो मानेको छैन’, उनले भने ।

बुधबार एनआरएनएको कार्यक्रममा सहभागीमध्ये एकले आफूहरूलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी थिइन् । ती प्रश्नकर्ताले चर्किँदै गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्ने भन्दै यसो नगरिएर मानवअधिकारको उलङ्घन हुने दाबी गरेका थिए ।

अन्य अन्य दुई प्रश्नकर्ताले पनि यस्तै आशयको अभिव्यक्ति दिँदै अध्यक्ष कुल आचार्यसमेत लाई आक्षेप लगाउन थालेपछि झाँक्रीले जवाफ दिन सुरु गरिन् । ‘चेयरले नै र्‍यापअप गर्नुहुन्छ भनेर नबोल्ने कुरा गरेका थियौँ । यहाँहरूको जिज्ञासाका लागि धन्यवाद’, उनले बोल्न सुरु गरिन्, ‘मलाई पनि तपाईँहरूलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउन चाहिँ मिल्दैन जस्तो लाग्यो ।’  

‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो,’ उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकता को कुरा भएपछि हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् । 

‘पहिला नेपाली विदेश जान केके हर्कत गर्‍यौँ । त्यो देशको आईएलआर वा ग्रिनकार्ड पाउन के के हर्कत गर्‍यौँ ?,’ उनले प्रश्न गरिन्, ‘नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’

उनले नेपालमा आएर नागरिकताबारे ठूला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् ।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।   

उनले थपिन्, ‘साथीहरू कान खोलेर सुन्नुस्, तपाईँहरूलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ । मानवअधिकार विश्वव्यापी हुन्छ । तपाईँहरूलाई सिटिजनको अधिकार दिएको होइन । गैरआवासीय नागरिकता दिएको हो ।’ 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:१०
Weather Update