
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चाडबाडको बेलामा उपहार स्वीकार नगर्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार आदानप्रदान गर्ने सर्वव्यापी चलन भएपनि रास्वपाले उपहार स्वीकार नगर्ने निती लिएको बताएका हुन् ।
उनले व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको उपहार आदान प्रदानको चलन अत्यन्तै सकारात्मक हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको स्टाटसमा लेखेका छन् ।
पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालयमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको पनि उनले स्टाटसमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही-कसैमार्फत) उपहार पठाउने कष्ट नगर्न अनुरोध छ। जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा एजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु।’