News Griha :: न्यूजगृह
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

बागलुङ एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ ।

स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताए । देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । पहिलेपहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउँछन् ।

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउँछिन् । वर्षौँदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उनले गाउँगाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताइन् । पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पुर्‍याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाइन् । माटो बेचेर मासिक १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताउँछिन् । 

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताइन् । दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताइन् । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको बताइन् ।

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठले बनेको हुँदा दसैँका बेला माटो र कमेरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरू पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उनी बताउँछिन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०८:२५
Weather Update