
भरतपुर— भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् ।
कमलपुरकी सीता परियारका चार जना छोराछोरी छन् । उनीहरूमध्ये दुई जना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एक जना चौकीडाँडा आधारभूत विद्यालयमा र एक जना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ ।
‘बाहिर कोठा लिएर राखौँ खर्चले धान्न सकिँदैन, नजिकै माध्यमिक विद्यालय छैन’, उनले भनिन्, ‘विद्यालय नजिक भएको यही चौकीडाँडा हो । यसमा पनि आठ कक्षासम्म मात्र पढाइ हुन्छ ।’ यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उनको भनाइ छ ।
उस्तै गुनासो सुनाउँछिन् धनमाया सुनार पनि । उनका दुई छोरी अहिले कक्षा छ र नौमा पढ्दैछन् । ‘कोठा लिएर पढाउने क्षमता छैन,’ उनले भनिन् । चार हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उनले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गरिन् ।
यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उनले भनिन्,‘कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।’ उनले छोरी कक्षा आठ पास गरेर नौमा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताए ।
यो पनि पढ्नुहोस
चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारी माध्यमिक तहको पढाइ यहाँ नहुँदा आठ कक्षा पास भएपछि पढाइ छोड्ने गरेको स्वीकार गर्छिन् । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षापछि पढाइ छोड्ने गरेको उनले बताइन् ।
प्रत्येक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । अभिभावकले शहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको संख्या बढेको उनको भनाइ छ । ‘कक्षा आठ उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्’, तिवारीले भनिन् ।
गत शैक्षिक सत्रमा १८ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएर उत्तीर्ण भएका थिए । तीमध्ये छ जनाले विद्यालय छाडेका छन् । अहिले यस विद्यालयमा ८५ विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलिक विकटताका कारण विद्यार्थीले विद्यालयस्तरको पढाइसमेत पूरा गर्न नसकेपछि यसको स्तरोन्नति गर्न महानगर लागिपरेको बताइन् । विद्यालयमा अहिले कक्षा आठसम्म पढाइ हुने गरेको बताउँदै उनले आगामी शैक्षिक सत्रबाट कक्षा नौको सम्बन्धन दिने तयारी गरिएको जानकारी दिइन् ।














