News Griha :: न्यूजगृह
तनहुँ–१ मा स्वर्णिमलाई भोट माग्दै रविले भने– दल फेर्नु पर्दैन, एकपटक मत फेर्नुस्

तनहुँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको बताए ।

‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरु दललाई पनि हामी यही आह्वान गर्छौँ’, सभापति रविले भने,‘कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छौँ ।’ लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताए । ‘यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्’, उनले भने ।

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरे । ‘सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौँ’, उनले भने ।

तनहुँ–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए । उनले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

डा.वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरुलाई गाली नगर्ने बताए । ‘अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु’, उनले भने । प्रतिनिधि सभा सदस्य एवम् पूर्वशिक्षामन्त्री शिशिर खनालले तनहुँ–१ ले गर्व गर्न लायक उम्मेदवार पाएको बताए ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १८:५७
Weather Update