News Griha :: न्यूजगृह
सशस्त्र प्रहरी नै  ठगी धन्दामा, कम परिमाणमा डिजेल बिक्री गरेपछि पम्प सिल

काठमाडौं केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भुस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ ।

बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।

उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री कार्यालयको हेलो सरकारबाट एक टोली अनुगमनमा खटिएको थियो । ‘उपभोक्तालाई कम मात्रामा डिजेल बिक्री गर्ने दुई वटा पम्प सिल गरेका छौं,’ अनुगमनमा खटिएका प्रद्युम्न उपाध्यायले भने,‘ सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा डिजेल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलङ्कीको श्यामा पम्प पनि सिल गरेका छौं थप अनुसन्धान हुँदैछ ।’

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तालाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

मंगलबार मात्रै अनुगमन क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:३२
Weather Update