
विराटनगर— नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूसँग गला मिलाएको बताएका छन् ।
बुधबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।
‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरू, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो । अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फूलमाला लगाएर आएपछि हामीले गले लगायौँ, स्वागत गायौँ युद्ध नै जितेर आइसकेपछि हामीले सबै कुरा बिर्सियौँ ।’
उनले आफूहरूले गाला जोड्न एमालेबाट सिकेको बताए । भित्र जस्तोसुकै झगडा, कुण्ठा भएपनि परेको बेलामा गाला जोडेको बताए । अब ८ भाइसँग जोडेको गाला कहिले नछुट्ने बताए । कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बुधबार विश्वासको मत लिँदैछन् ।