News Griha :: न्यूजगृह
नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्का
Photo : RSS

काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताए । संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान उद्देश्य प्रति नेपालको प्रतिबद्धता स्मरण गराएका थिए । उनले भने, 'संयुक्त राष्ट्र संघको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ ।'

निशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धिसम्झौताहरूमा नेपालका प्रतिबद्धताहरू अभिव्यक्त भएको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा नेपालले शान्ति सैनिकलाई निरन्तर खटाएर योगदान गरिरहेको बताए ।

संयुक्त राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको खड्काको भनाइ थियो । उनले विश्व समुदायको एक सदस्यको हैसियतले नेपाल पनि यी प्रयासमा सक्दो योगदान गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । 'संयुक्त राष्ट्र संघ अन्तरगत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद दिन चाहन्छौँ । वास्तवमा, यो विषय हामी सबै नेपाली नागरिकका लागि गर्वको विषय हो, प्रतिष्ठाको विषय हो,' उनले भने । 

संयुक्त राष्ट्र सङ्घमा नेपालको सहभागिता र योगदान उल्लेखनीय रहेको खड्काको भनाइ थियो । हाल नेपाल संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति कार्यमा १० हजारसम्म तालिम प्राप्त शान्ति सैनिकलाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको लैंगिक समानता रणनीति अनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गर्न र सक्षम महिला शान्ति सैनिक पठाउन हर सम्भव प्रयास गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३०
Weather Update