
काठमाडौं— नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बुधबार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । ‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, भण्डारीले भने, ‘प्रदेश सभा बैठकमा कोशी प्रदेश हाम्रो पार्टीका दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको धारणा राख्नुहुन्छ ।’
११ बजे सुरु हुने भनेको प्रदेश सभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।
गत शनिबार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बुधबार बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपा र जसपाले नदिने जनाएका छन् ।