काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङसहित हिमाली जिल्लामा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति दिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे । बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परिवर्तनले पारेको असरको सामना गर्नुपर्ने भन्दै त्यसमा सरकार गम्भीर भएर लागेको बताए ।
त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफू प्रतिबद्ध रहेको भन्दै उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस नेपाल आउँदा मुस्ताङको समस्या राख्ने बताए ।
विगतको हिउँ पहिरो र मुस्ताङको कागबेनी क्षेत्रमा गएको बाढी जलवायु परिवर्तनको उपज भएको भन्दै उनले थपे, ‘विगतमा हिमपातको घटना घट्यो र ठूलो मानवीय क्षति पनि भयो । जलवायु परिवर्तनसँग यसको सम्बन्धलाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ, यहाँको कृषि उत्पादन, पर्यटन र तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर ढंगले लागेको छ।’
मुस्ताङ जलवायु परिवर्तनको चपेटामा परेको र त्यसको न्यूनिकरणमा सरकार गम्भीर भएको उनको भनाई छ । प्रधानमन्त्रीले जलवायुसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई झन्डै ५० करोड सहयोग गर्न लागेको र सो रकम सबै मुस्ताङलाई दिने घोषणा उनले गरे ।
प्रचण्डले भने, ‘अहिले जलवायुसँग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झन्डै ५० करोड नेपाललाई प्राप्त हुँदैछ । त्यो ५० करोड मुस्ताङलाई नै हामी दिँदै छौँ । यसबाट तपाईँहरूले बुझ्न सक्नु हुन्छ सरकारले मुस्ताङ जिल्ला र यसको ऐतिहासिकता, भौगोलिक विशिष्टता, यहाँको संस्कृति, परम्परा, उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ ।’
अन्तर्राष्ट्रिय समस्याको रुपमा रहेको जलवायु परिवर्तनले नेपालको हिमाली जनजिवन, इकोसिस्टम र भौगोलिकतामा पारेको असर निकै गम्भीर भएको र सो बारे आफ्नो संयुक्त राष्ट्रसंघ देखि रोमको भ्रमण सम्ममा नेपालको समस्या राखेर विश्वको ध्यानाकर्षण गराएको बताए ।













