News Griha :: न्यूजगृह
इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे 
तस्बिर : भवानी भट्ट ।

काठमाडौं— इजरायलबाट उद्धारमार्फत भारतको दिल्ली आएका नेपालीहरू बुधबार बिहान महेन्द्रनगर आइपुगेका छन् । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आइपुगेका हुन् ।  

दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई घर पठाएको हो । बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

नेपाली दूतावाससँग सहकार्य गरेर दिल्लीमा यातायात व्यवसाय गरिरहेका वीरबहादुर बोहोरा उद्धार गरिएका नेपाली लिएर महेन्द्रनगर आएका थिए । उनका अनुसार १८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ–आफ्नो घर फर्किनेछन् ।

महेन्द्रनगर आइपुगेका सबैलाई बुधबारै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । ‘हामीले यातायात व्यवसायीसँग सहजीकरण गरेर यहाँ पुगेकालाई गन्तव्यसम्म पठाउने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘दिल्ली आइपुगेका १८ मध्ये ११ जना हवाई यातायातबाट काठमाडौं जाने भएपछि ७ जना मात्रै यो नाकाबाट आएका हुन् ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:०८
Weather Update