
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिक र सरकारको हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर समस्याको सम्बोधन र समाधान गरेको बताएका छन् ।
मंगलबार ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सीमित साधन स्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए ।
उनले भने, ‘सीमित साधन स्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजी हो ।’
समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरण सँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व लागेको उनको भनाई छ ।
उनले बदलिएको परिस्थितिअनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी रहेको बताए ।













