महोत्तरी— दसैँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् ।
दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् ।
अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् ।
दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो संकलनमा लागेका छन् ।
मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ ।
यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक–फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् ।
‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ,रातो माटो लिन चुरे नै पुग्नुपर्छ’,सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका–३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छिन्,‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।’
रातो माटो एक बोरा (४० किल) घर पुर्याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउँछिन् । गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् ।
माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही–७ की पारोवती ठाकुरले बताइन् । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्तता देखिन्छ ।
बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिएकी भङ्गाहा–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन्,‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।’
मधेसका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो संकलनको होड चलेको छ । यी समुदायका महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । भङ्गाहा–५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्छन्,‘घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन् ।’
दसैँमा थारु, बाँतर र मुसहर महिलाको साथसङ्गतले अन्य जाति समुदायका महिला पनि अहिले माटो संकलनमा लागेका छन् । दसैँअघि माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र स–साना नानीको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने गौशाला–१ रामनगरकी पवनवती महरा बताउँछिन् ।
मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँमा घर पोत्ने चलन छ ।













