
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोटको विषयमा सवाल—जवाफ भएको छ ।
रास्वपालाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा नीति, सिद्धान्त नभएका दललाई मत दिने जनता कस्ता भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ सभापति लामिछानेले फर्काएका छन् ।
सोमबारदेखि चलेको नीति मन्थन नामक विमर्शको समापन गर्दै सभापति लामिछानेले मंगलबार नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा पनि ती दललाई अझै भोट हालिरहने भन्दै प्रश्न गरे ।
रविले भने, ‘नो भोटबाट न्यु भोटमा आएको पुस्तालाई बताउनै पर्ने हुन्छ। जनता पनि कस्ता, यो नयाँ दल नीति विचार केही पनि छैन, सिद्धान्त पनि केही छैन, भर्खरै आएको छ, तिनलाईचाहिँ भोट हालिहाल्ने जनता पनि कस्ता भनेर जनताको चेतनालाई पनि चुनौती दिएको यदाकदा मैले पनि सुन्ने गरेको छु । हामीलाई माया गर्ने, सद्भाव राख्ने भोट हाल्ने जनता कस्ता होइन, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटर्सहरूलाई रातोमा पुर्याउँदामा पनि अझै पनि तपाईंकै दललाई भोट हालिरहने ती भोटर्सचाहिँ कस्ता ?’
जनताले ह्वारह्वार्ती भोट नदिएको र पुराना राजनीतिक दलप्रति मतदाताको विश्वास कायमै रहेको देखिएको उनले बताए । ‘जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत छैन । जनताको त्यो चेतनालाई चुनौती नदिन पनि आग्रह गर्छु,’ उनले भने ।