
काठमाडौं— अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ ।
व्यापारीहरू बजारमा देखिएको चिनीको अभाव कृत्रिम नभइ वास्तविक नै भएको बताउँछन् । बजारमा चिनीको अभाव हुनुमा उनीहरु सरकारलाई दोष दिन्छन् ।
खुद्रा व्यापार सङ्घका कार्यसमिति सदस्य ध्रुव अधिकारी अहिले बजारमा चिनी नै नपाइएको बताउँछन् । ‘बजारमा चिनी नै नभएकाले हामीले अहिलेलाई नबेच्ने भनेर संस्थागत निर्णय नै गरेका छौँ,’ उनले भने, ‘अहिले हामीलाई थोक बिक्रेताले नै चिनी छैन भनेर दिएको छैन ।’
उनका अनुसार चिनीको अभाव भएर मूल्य अति बढेपछि नबेच्ने निर्णय गर्नुपरेको हो । ‘अस्ति एकै दिन १०५ रुपैयाँ किलोको चिनी ११७ रुपैयाँ किलो पुग्यो अनि भोलिपल्टै त्यो फेरि १२३ रुपैयाँ किलो पनि भयो । त्यस्तोमा कसरी बिक्री गर्ने?,’ उनले भने । अहिले बजारमा केही पसलेहरूले किलोको १३० रुपैयाँ भन्दा बढीमा चिनी बिक्री गरिरहेको उपभोक्ताको गुनासो छ । अभावका कारण मार्ट तथा सुपरस्टोरहरूले पनि चिनी बिक्री गर्न सकेका छैनन् । साल्ट ट्रेडिङ लिमिटेडले भने किलोको ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले कम्पनीले माग अनुसार चिनी आपूर्ति गर्न नसकेको बताए । दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी तथा दुग्ध विकास संस्थानले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
केहीसमय अघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७०० क्विन्टल चिनी साल्ट ट्रेडिङ कर्पोरेसनलाई बिक्रीका लागि दिएको थियो । त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर सरकारले चिनीको अभाव कम गर्न पहल गरिरहेको बताउँछन् । उनका अनुसार विदेशबाट चिनी आयात गरेर ल्याउने अवस्था नबनुन्जेल नेपाली उद्योगमा रहेको चिनीबाटै आपूर्ति गर्ने र पछि उनीहरूलाई चिनी उपलब्ध गराउने पहल भइरहेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा नेपालका विभिन्न उद्योगी र व्यवसायीका गोदाममा १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी भण्डारणमा रहेको स्रोतको दाबी छ । तर, उक्त चिनी जुस र अन्यखाले उद्योगहरूका लागि बिक्री गरिसकेको व्यवसायीहरूको दाबी छ ।
सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीबाट चिनी लगायतको खाद्यान्न बिक्री गर्दै आइरहेको छ । तर, अहिले बजारमा निजी व्यापारीहरूले कार्टेलिङ गरी अभाव सृजना तथा मूल्यवृद्धि गर्दासमते सरकारले हस्तक्षेप गर्न सकेको छैन ।