
विराटनगर— कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले आह्वान गरेको बन्दका कारण धनकुटामा जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण सवारीसाधन चल्न नपाउँदा यात्रु समस्यामा परेका छन् । गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य आउजाउ गर्ने यात्रु समस्यामा परेका हुन् ।
गत असोज २५ गते पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दे समितिले यातायात बन्द आह्वान गरेको हो ।
भदौ ८ गते धनकुटाको राजारानीमा आयोजित युवा संघको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले पहिचान पक्षधर संगठनका तीन जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
ती कार्यकर्ताको विनासर्त रिहाइको माग राखेर समितिले बिहानैदेखि कोशी राजमार्गको भेडेटार–फोक्लेन्ड टापु खण्ड अवरुद्ध बनाएको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार बन्दकर्ताका मागबारे छलफल भइरहेको छ । उनले यातायात सेवा नियमित सञ्चालन गराउन संघर्ष समितिसँग कुरा गरेर पहल भइरहेको बताए ।













