News Griha :: न्यूजगृह
दसैँको अवसरमा बनेपामा ‘चंगा चैट’ प्रतियोगिता

धुलिखेल— दसैँं र तिहारको याममा चंगा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चंगा महोत्सव गर्न लागिएको छ ।

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चंगा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘चंगा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

अहिलेको युवा संस्कति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोपहुँदै गएकाले  संरक्षण गर्न र युवा पुस्तामा  यसको महत्व बुझाउन पनि  महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताए ।

‘दसैँमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ,’ उनले भने,‘विगत एकदशक अगाडिसम्म दसैँ तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।’

अहिले पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो थियो  तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चंगा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:४१
Weather Update