
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'कमिटमेन्ट'को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन् ।
मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री प्रचण्ड भने ढुक्क, आराम, आनन्द र प्रसन्न चित्तमा 'कमिटमेन्ट'को वर्षा मात्रै गर्ने गरेको ओलीले बताए । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विज्ञहरूले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलब खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री प्रचण्डले भने राम्रो छ भनेर बसिरहेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरूलाई सचेत गराए । 'अहिलेको त खाली गरिबहरूका लागि मात्रै होइन कि हुनेहरूका लागि पनि तरलताको कमी, पैसा छैन । बैंकले दिन सक्दैन आदि खालका कुराहरूले देशलाई आर्थिक सङ्कटतर्फ धकेल्दै छ । र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरूले भनिराखेका छन्', अध्यक्ष ओलीले भने, 'विभिन्न पत्रपत्रिकामा छापिइराखेको छ । सरकार मात्रै ढुक्क छ । अरु कोही ढुक्क छैन । तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ । भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन ।'
अर्थतन्त्रको अवस्था चिन्ताजनक अवस्थामा पुग्दासमेत प्रधानमन्त्रीले कमिटमेन्टको वर्षा मात्रै गरेर बसिरहेको उनले बताए । 'प्रधानमन्त्रीज्यू तपाईंहरूको बीचमा पनि आएर बोल्नुभयो होला । ढुक्क, आराम, आनन्द, प्रसन्न चित्त हुनुहुन्छ उहाँ । केही पनि छैन । भन्नु पर्दा पनि उहाँले केही बाँकी राख्नु हुन्न । तारा झार्देऊ न भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारी दिउँला भन्नुहुन्छ । कमिटमेन्टका लागि कुने खडेरी पर्दैन । कमिटमेन्टको वर्षा हुन्छ । तर तपाईंहरूले अर्थतन्त्र देख्नु भएको छ । र, म तपाई सहकारी अभियन्ताहरूलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ । त्यो बदनाम हुन नपाओस् भन्ने कुरामा पनि तपाईंहरूको ध्यान जानु पर्छ । सहकारी बद्नाम हुन नपाओस् । किनभने मान्छेको सहकारीमाथिको विश्वास धरमरायो भने सहकारीमा कसरी जाने ? हाम्रो जस्तो देश, यसका केही विशेषताहरू छन् ।'
मुलुकमा सरकारबाट जमिन, पूँजी नभएर व्यक्तिसँग जमिन, निजी पूँजी भएको कारणले सरकारले चाहेको काम गर्न नसकेको ओलीले बताए । उनले भने, 'अरु देशहरूमा सरकारले चाहेको काम गर्न सक्छ । तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन । यस्तो खालको स्थिति छ ।'
ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढ्न सरकारलाई सुझाव समेत दिए । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । ओलीले यति बेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताए ।
अनावश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने ओलीले दोहोर्याउँदै भने । 'अहिलेको अवस्थामा, यति बेलाको अवस्थामा, खासमा यति बेलाको अर्थतन्त्रको स्थिति, आर्थिक अवस्थाको स्थितिमा भन्ने हो भने सहकारीलाई प्रोत्साहित गर्दैनौँ, सहकारी अभियानलाई अझ सुदृढ ढंगले अगाडि बढाउँदैनौ । र, अनावश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउने तर्फ हामी प्रवाह गर्दैनौँ भने बगिराखेको छ पानी, खेतमा फर्काउदैनौं भने कसरी उत्पादन हुन्छ ? त्यसकारण यतिबेला उत्पादनमूलक काममा लगाउने भने, प्रोडक्टिभ काममा लगाउने भनेको मुख्य रुपमा चाहिँ सहकारीतर्फ खोलाको पानीलाई खेतमा इरिगेशन गरेजस्तै हो', उनले भने, 'यसमा कमी छन् भने तरिका निकालौं । तर, सहकारीको विरोध गरेको छ । सुझ न बुझ जस्तो विरोध गरेको छ । एकाधलाई दृष्टान्त बनाएको छ । एउटा चामलमा कतै कालो देखियो भने कालो, कालो, कालो भन्या छ । सबै हल्ला ग¥या छ । ताकि सेतै छ । सबै सहकारी बिग्रेको छ र ? अनि, एउटा कुने बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ । त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनु पर्छ । सरकारीको संरक्षण गर्न, प्रमोसन गर्न ।'
अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्क समेत गरे ।













