News Griha :: न्यूजगृह
बाग्लुङमा असिना पानीले धान र फापरखेती नष्ट

बाग्लुङ— सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।

वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले बताए । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उनको भनाइ छ ।

उनका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्‍यएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित बनेका छन् । असिनाले तरकारीका बिरुवा ढलाइदिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पुर्‍याएको बुढाथोकी बताए ।

‘गाउँमा धेरैजसो किसानले फापरखेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गर्थ्यो, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरि तोरी, तकारी र फापर सबै भुइँभरि ढलेको छ, कात्तिकमा भित्र्याउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरि झरेका छन्, तोरी भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ,’ उनले भने । 

हावाहुरीसहितको वर्षाले बाग्लुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:३३
Weather Update