घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

झापा— सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।
उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो ।
भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजारको चेकसहित एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० ०४:२८













