
काठमाडौं— नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरण सुरु गरेसँगै बैंकमा सर्वसाधारणको भीड लागेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकसहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् । तर घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता पनि छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोख्रेलले परम्परागत रुपमा नै दसैँमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचलन रहेकाले त्यही अनुसार यस वर्ष पनि नयाँ नोट वितरणको व्यवस्था गरिएको बताए ।
५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने उनले बताए ।
शुक्रबारसम्म सर्वसाधारणले विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने उनको भनाइ छ । उनले भने, ‘परम्परागत रुपमा नै दसैँमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचल छ । त्यही अनुसार नै हामीले यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था गरेका छौं । आजदेखि नयाँ नोट सटही सुरु गरेका छौं । एक जना मानिसले ५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट साट्न पाउने छन् । यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले साट्न पाउने व्यवस्था गरिएको छ । र, आज सोमबार २९ गतेदेखि ३ गते शुक्रबारसम्म नयाँ नोट साट्न पाउने व्यवस्था छ बैंक तथा वित्तीय संस्थाबाटै र राष्ट्र बैंक र प्रादेशिक कार्यालयहरूबाट समेत नयाँ नोट साट्न पाइने छ ।’
दसैँका लागि नयाँ नोट साट्न सर्वसाधारणको बिहानैदेखि भीड छ । राष्ट्र बैंकमा नयाँ नोट साट्न बसेका भेषराज भट्टराईले कार्यालयमा नोट सटहीको व्यवस्थापन राम्रो र व्यवस्थित नभएको गुनासो गरे ।
जेष्ठ नागरिकलाई पनि अरु सरह लाइनमा राख्ने र कर्मचारी व्यक्तिगत काममा व्यस्त भई छिटो सेवा नदिँदा सर्वसाधारणलाई समस्या भएको भन्दै उनले आक्रोश पोखे ।
उनले भने,‘१०ः३० देखि लाइनमा छु । तीन घण्टा भयो लाइन बसेको । ५ जना जतिले मात्र अहिले पाउनु भएको छ । बीचमा को को आउनुभयो थाहा छैन । कर्मचारीभित्र बसेर फोन गर्नुहुन्छ । झ्यालमा आईज् भन्नुहुन्छ । वृद्धवृद्धा लाइनमा छन् । व्यवस्था गतिलाे छैन । सास्ती छ ।’
यस वर्षबाट क्यूआर कोडबाट समेत पैसा साट्न सकिने व्यवस्था गरिएको छ ।













