
दाङ— घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षे केसीले २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् ।
‘मलेसियामा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगेँ । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनँ, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ’,उनले भने । उनका अनुसार पशुपालनबाट हाल मासिक दुई लाख आम्दानी भइरहेको छ । उनी आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध संकलन गरी बिक्री गर्छन् ।
विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ । ‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ,अनि जति कमाए पनि कमै देख्छौँ’,केसीले भने । उनले हाल चार जना स्थानीयलाई रोजगारी पनि दिएका छन् ।
उनी मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहेका छन् । उनको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन् ।
‘हरेक दिन बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु’, उनले भने,‘घरबाट निस्कनु अघि भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।’ केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गरेका छन् ।