News Griha :: न्यूजगृह
यी प्रदेशमा दुई दिन वर्षा हुने

काठमाडौं— यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।

यस वर्षको मनसुन एक सय २४ दिन जति नेपालमा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने कँडेलले जानकारी दिइन् । उनका अनुसार आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उनको भनाइ थियो ।

पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिनासमेत पर्दा बालीनालीमा क्षति पुर्‍याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यय वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

काठमाडौंको वायुको तापक्रम १९ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनले भनिन्,‘आज काठमाडौंमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्डिग्रेडको बीचमा रहने सम्भावना रहेको र दिउँसोतिर काठमाडौंमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।’

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:२०
Weather Update