
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।
मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले मुख्य वक्तव्य दिनेछन् ।
सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।
भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत छन् ।













