News Griha :: न्यूजगृह
गुटबन्दी नगर्न निर्देशन दिँदै ओलीले भने, पार्टीभित्र कोही प्रतिपक्ष छैन

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिवारदेखि काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले त्यसो बताएका हुन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढी बलियो, व्यापक र अग्लो रहेको दाबी गरे । एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै उनले अनेमसंघलाई धन्यवाद समेत दिए । 

ANWa-7th Congress1680952653.png

पार्टीमा आबद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो । 'अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन्',  उनले भने भयो, 'अनमेसंघ र अरु संगठनहरु सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको योगदान महत्त्वपूर्ण छ । यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरी एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरीर भरि घाउ, नीलडाम होलान् । तर नेकपा एमाले फेरी पनि जुरुक्क उठेको छ । अरूभन्दा अलि बलियो, अरूभन्दा अघि व्यापक, अरु भन्दा अघि अग्लो त्यस रुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरूको निष्ठाले काम गरेको छ ।'

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्‍याए । त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । 

ANWa-7th Congresss1680952653.png

उनले पार्टी भित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने समेत स्पष्ट पारे । 'आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तो उस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो ग्रुप बनाएझैँ । खेल्न खोजे झैँ त्यस्तो खालको नगर्नुहोला', ओलीले भने, 'एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौँ । यसमा तलमाथि हुँदैन ।'

ओलीले अनेमसंघले पनि ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:४८
Weather Update