News Griha :: न्यूजगृह
सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढ्यो : अध्यक्ष भट्टराई

चितवन— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

पारिवारिक भेटघाटका क्रममा आइतबार चितवन आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने,‘देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ । दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्धतिलाई मिच्ने काम भएको छ ।’ यसले लोकतन्त्रको हित नहुने उनको भनाइ थियो ।

हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भने,‘दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्‍यो कि त निर्वाचन प्रणाली बदल्नुपर्‍यो ।’

अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उनले बताए । उनले भने,‘गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।’

अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उनको भनाइ थियो । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:२४
Weather Update