News Griha :: न्यूजगृह
बैतडीमा असिनापानीले बालीनाली सखाप

बैतडी— बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ ।

आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए ।

पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ ।

दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ । वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन् ।

हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:५७
Weather Update