
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले, अहिले सरकार परिवर्तन कुनै ठुलो कुरा नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्नुभन्दा धेरै गुना गारो अर्थतन्त्र परिवर्तन गर्नु भएको बताए ।
‘सरकार परिवर्तन गर्नुभन्दा धेरै गुना गारो अर्थतन्त्र परिवर्तन गर्नु छ । त्यो गारो कुरा एकरातमै पाउँछौ कि के हो । भनेर सोच्छौ त्यो हुँदैन,’ उनले भने, ‘हामीसँग समस्या छ, जहाँ छ त्यसलाई त्यही स्थानमा बसेर समाधान खोज्नुपर्छ । जनतासँगको छलफलमा त्यसलाई लिएर जानु हुँदैन त्यसो भयो भने समस्यालाई समाधान भन्दा बिगार्ने काम गर्छ ।’
देशमा कानुनी राज नभएकाले समस्या उत्पन्न भएको बताएका उनले दलहरूले घोषणा पत्र अनुसारको काम नगर्दा समस्या भएको बताए । नयाँ पार्टीमासमेत देश बनाउने भिजन नभएको उनले बताए । ‘रास्वपा भन्ने पार्टी छ, के भिजन छ उनीहरूसँग ?, पुराना पार्टीले काम गरेन भन्ने बाहेक ५ वटा देश विकास गर्ने काम के हो भनेर सोध्नु भयो भने भन्न सक्छन् । तपाईँहरूले सुन्नु भएको छ आजसम्म ?,’ पाण्डेले भने, ‘हाम्रो देश कानुनको राज नभएर बिग्रिएको हो । कानुनको राजबाट जाने हो भने केही समय गारो हुन्छ ।’
विश्व परिस्थितिलाई ध्यानमा राखेर नयाँ नेपाल निर्माणको योजना बनाउनुपर्ने बताएका उनले त्यसको नेतृत्व एमालेले गर्नुपर्ने बताए ।