News Griha :: न्यूजगृह
कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको उम्मेदवारको पक्षमा

चितवन— गत निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरूले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् ।

उनीहरूले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् ।

'नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ', अपिलमा भनिएको छ ।

पार्टी कमजोर भएमा देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको अपिलमा भनिएको छ । मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेको उनीहरूले बताएका छन् । विगतको निर्वाचनमा विद्रोह गरेका प्रायः सबै पार्टीमा एक ढिक्का भएको बताइएको छ । 

यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएको हो । 

चितवन–२ मा आगामी १० वैशाखमा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् । 

पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागिपरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिनुभएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताए ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:५६
Weather Update