
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद् बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे ।
आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे ।
उनले भने, ‘प्रदेश सभा विघटन हुन्छ कि मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’
प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए ।
कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दुई जना मन्त्रीलाई नियुक्त गरेका छन् ।