
रामेछाप— आज बडादसैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो । अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो ।
गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो गाउँवासीलाई । गागलमा सडक बनेको धेरै भयो । गागलको महाकालीथानसम्म सुमो पनि चल्छ । तर सुमोमा धेरै मानिस नअटाउने ।
सोझै काठमाडौं जाने मानिसले सुमो भरिएपछि गाउँका मान्छे सडक बने पनि पैदल नै हिँड्नु पर्ने । ‘सडक केही साँघुरो थियो, यस पटक मर्मत गर्दा मोडमा केही सुधार गरेर ठूला बनायौँ र बस चल्न सक्ने भयो’, खाँडदेवी–८ का वडा अध्यक्ष जंगलाल तामाङले भने ।
गाउँमा बस आउने भएपछि बिहानदेखि गाउँलेहरू सगुन तयार गरेर बसेका थिए । गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए ।
चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए, गाउँलेले पनि सगुन खाएर खुसीयाली मनाए । गागलबासीलाई काठमाडौं जान पाए सुमो नपाए बस चढ्न गाउँबाट तलसम्म झर्नुपर्थ्याे ।
अझ सदरमुकाम मन्थली आउनेले त ट्रक चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्थ्याे । अब गाउँमा बस पुगेपछि बसमा यात्रा गर्न पाउने भएका छन् ।
काठमाडौंबाट खाँडादेवीको फुल्पाहुँदै जाने बस गागलको महाकालीथानबाट चिरंखुसम्म पुग्छ । जसले गर्दा गाल मात्रै होइन दोरम्बा गाउँपालिकाका केही वडाका स्थानीयलाई समेत आवागमनमा सहज र छोटो यात्रा हुने भएको छ ।
नियमित बस चल्ने भएपछि स्थानीयलाई धेरै सजिलो हुने भएको छ’, स्थानीय गोपाल थोकरले भने । चिरंखुबाट अब दैनिक बस सेवा सञ्चालन हुने वडा अध्यक्ष जंगलालले बताए ।
‘खाँडादेवी यातायात समितिलाई कुरा गरेका छौँ,अब दैनिक बस सेवा सञ्चालन हुन्छ, स्थानीयलाई काठमाडौं आउजाउ गर्न धेरै सजिलो हुन्छ’,उनले भने ।