
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । न्यौपानेले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता न्यौपानेले नेकपा एसले परिचय दिएपनि पहिचान दिन नसकेको बताए । उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउदै सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे ।
उनले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले नेकपा एस पार्टी परित्याग गरेको घोषणा गरे । आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत बताए ।
नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबी समेत नेता न्यौपानेले गरे । 'नेकपा (एकीकृत समाजवादी) ले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भइ वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी माक्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो', उनले भने, 'सांसदको लागि झगडा गर्ने । सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने । मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रिय समितिको बैठकमा आफ्नो धारणासहति फरक मत राखेको थिएँ । हालसम्म कुनैपनि छलफल नभएकाले त्यहाँ
बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो ।'
नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी समेत गरे ।













