
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको बताएका छन् ।
कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदै शनिबार नयाँ सरकार बनेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्,‘कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको निर्लज्ज कुर्सीको तमासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन जति भूमिका खेलेको छ त्यति यो घोषित व्यवस्थाविरोधीहरूको भूमिकाले पनि खेलेको छैन ।’
अध्यक्ष डा.भट्टराईले कांग्रेस र एमालेलाई समेत उछिनेर नेकपा माओवादी केन्द्रले गरेको हर्कतले लाज पनि लजाउनुपर्ने स्थिति बनेको बताए ।
अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षानिम्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्दसँग सहकार्य गर्नु खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण हुने डा.भट्टराईको भनाइ छ ।
उनले विगतका उदारवादी र आदर्शवादी कमजोरी हटाउँदै दृढतापूर्वक अग्रगामी वैकल्पिक शक्ति निर्माणमा लाग्नु देश र जनताकालागि अपरिहार्य आवस्यकता बनेको बताए ।
उनी भन्छन्, ‘चुनावदेखि चुनाव र सत्तादेखि सत्तासम्मको फोहोरी खेल खेलेर कुनै समाजवाद र अझै झन् साम्यवाद त आउँदै आउँदैन भन्ने सबैले बेलैमा बुझून् ।’