
काठमाडौं— नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोङ्गबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो । शुक्रबार ४० हजारले उपत्यका छाडेकामा शनिबार एकै दिन ५० हजारबढी बाहिरिएको अनुमान गरिएको छ ।
सरकारले लामो दूरीका लागि यही असोज २२ गतेदेखि चाडपर्व लक्षित अग्रिम बुकिङ खुला गरेसँगै बिहानदेखि बेलुकीसम्म नै गोङ्गबु, कलंकी, कोटेश्वर लगायत बसपार्कमा टिकट लिनेको भीड लाग्ने गरेको छ । दसैँका लागि हालसम्म १ लाख यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए ।
सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिट समेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरू बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहजरूपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले बाहिरिने यात्रुको सहजताका लागि विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुनेछ ।













