News Griha :: न्यूजगृह
मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौं— बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ ।

उनका अनुसार पूर्वबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएकाले आगामी बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताए । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १५ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन ।

पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरू बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान र बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:५३
Weather Update