News Griha :: न्यूजगृह
कोशी सरकारमा एमाले सहभागि हुने, मन्त्रालयको टुंगो लाग्न बाँकी

काठमाडौं— कोशी प्रदेशमा नेकपा एमाले फेरि सरकारमा सहभागी हुने भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले सरकारमा पनि जाने भएको हो । 

‘अहिलेसम्म हामी सरकारमा सहभागी हुने कुरा भएको छ। भोलि नै मुख्यमन्त्रीसँगै हाम्रा मन्त्रीले पनि शपथ लिनुहुनेछ, एमाले कोशी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘मन्त्रालयको कुरा टुंगिन बाँकी छ । आज नै हामी बसेर टुंगो लगाउँछौं। भोलि सानो आकारको मन्त्रिपरिषद् गठन हुन्छ।’

संविधानअनुसार अन्तिम विकल्प प्रयोग भएर सरकार बनेकाले यसमा एमाले सहभागी हुने र सफल बनाउन लाग्ने भण्डारीले बताए ।

एमालेका (उपसभामुखबाहेक) ३९ र कांग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट कांग्रेसका केदार कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् । उनी संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका हुन् ।

अब उनले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ । सत्ता गठबन्धनको औपचारिक निर्णयबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

दुवैले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्तिको निर्णय गरेका हुन् । 

कांग्रेस नेता शेखर कोइरालालाई रोक्न नसकेपछि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले कार्की नै गठबन्धनको मुख्यमन्त्री भएको बताउन थालेका छन् । 

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनुका साथै  गठबन्धनलाई कुनै हालतम कमजोर नबनाउने भनेर एउटा ‘चिर्कटो’मा हस्ताक्षर पनि भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:४९
Weather Update