News Griha :: न्यूजगृह
गैर आवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

काठमाडौं— गैर आवासीय नेपाली संघ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहु पदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । 

महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा संघको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए ।

यसैगरी अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएका थिए भने अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा संघका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्‍याउन सबैको सहयोगको अपेक्षा गरे । 

सन् २००३ मा स्थापित संघले २० वर्षको अवधिमा हालसम्म विश्वका ८६ देशमा सङ्घका राष्ट्रिय समन्वय परिषद् गठन गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:१८
Weather Update