News Griha :: न्यूजगृह
मुख्यमन्त्री नियुक्तिको लागि कोशीमा आज सांसदको हस्ताक्षर सनाखत

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदहरूलाई शनिबारको समय दिएका छन् ।

प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् । 

कोशी प्रदेशमा शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिइएको थियो । उक्त समयमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस सांसद केदार कार्कीले समान ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उक्त दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर उल्लेख छ । 

दुवैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर समावेश गरेका छन् भने आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)को १ सांसदको हस्ताक्षर समावेश गरेका छन् ।

प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखत पछि शनिबार नै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:३०
Weather Update