
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोहोर्याएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताएका हुन् ।
ओलीले भने, ‘हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहीको शत्रु र न्यायका शत्रु हाम्रो विरोधी हुन । सबैमा समृद्धि होस भन्ने बित्तिकै तिनीहरूको टाउको दुख्छ पिर पर्छ । यो समाज पिरोलिएको बिथोलिएको स्वार्थी पृष्ठभूमिबाट आएको थिचो मिचो दमनको पृष्ठभूमिबाट आएको समाज छ । यि चुनौतीलाई सामना गर्नुपर्छ ।’
उनले विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताए । केही ठाउँमा अपवादका रुपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेको उनको भनाई छ ।
ओलीले भने,‘ विश्वबाट राजतन्त्र समाप्त भयो । अधिनायकवाद समाप्त भए । केही ठाउँमा अपवादका रुपमा छन् । कुनै ठाउँमा राजतन्त्र छन् भने जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेका छन् । नत्र बच्न सक्दैन । कुनै पनि राजतन्त्र लोकतान्त्रिक पृष्ठभूमिबाट आएको हुँदैन ।’