
काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् ।
पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।
सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरूले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कोइराला गएनन् ।
प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र कांग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए । प्रचण्डको सुझावपछि बैठक मै देउवाले कोइरालालाई कांग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
‘बालुवाटारको बैठकमा सँगै थियौँ । त्यसपछि उहाँ यता आउँछु भन्नुभयो, तर आउनुभएन,’ कोइरालालाई पर्खिएको विषय उल्लेख गर्दै नेता मीन विश्वकर्माले भने, ‘अहिले देखिएको समस्या हल गर्न गठबन्धनबाटै मुलतः दुई वटा प्रस्तावमाथि छलफल भयो, तर उहाँले मान्नुभएन ।’
कोइराला सहभागि नभएपछि बैठक निष्कर्षविहीन भएको छ।