
काठमाडौं— कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जम्मा भएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्री चयनका सम्बन्धमा पार्टीभित्रै विवाद देखिएपछि त्यसबारे छलफल गर्न देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । यसअघि सभापति देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटार पुगेर छलफल गरेका थिए ।
कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट कोशी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भए पनि प्रदेश सभाका ८ सदस्यले पार्टीको निर्णय मानेका छैनन् ।
कांग्रेस सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् भने उनलाई एमालेका २९ सांसदले समर्थन गरेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय शुक्रबार साँझ ५ बजेबाट सकिएको छ ।
प्रदेशमा मुख्यमन्त्री नियुक्तिको घडी आइरहेका बेला पार्टीभित्र लागेको विद्रोहको आगो निभाउन कांग्रेस नेताहरू छलफलमा जुटेका छन् । कोशीमा पार्टीको निर्णयविरुद्ध मुख्यमन्त्री दाबी गर्ने कार्कीसहित ८ सांसद नेता शेखर कोइरालानिकट हुन् । ‘भर्खरै सभापतिजीले प्रधानमन्त्रीजीसँग छलफल गरेर आउनुभयो । अब हामी जम्मा भयौँ । छलफल सुरू हुदैछ,’ एक नेताले भने ।