News Griha :: न्यूजगृह
गोरखाका एक परिवार युट्युबबाट सिकेर च्याउ खेतीमा, वार्षिक आठ लाख आम्दानी

गोरखा— गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन् ।

गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

‘पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ’,सानुमायाले भनिन्,‘अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।’ 

उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।

बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताइन् ।

‘वि.सं.२०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो’,उनले भनिन्, ‘सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।’

सानुमायाले बजारमा माग बढी भएकाले पुर्‍याउन नसकिएको बताइन् । अहिले बजारमा प्रतिकिलो पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिइन् ।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैमा सकिने भएकाले मुख्य बजारमा पुर्‍याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । ‘विशेषगरी मंसिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ’,उनले भनिन्,‘वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।’

थापामगरको परिवारले दुई वटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आएकी छिन् । मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताइन् ।

‘पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ’, उनले भनिन्, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ ।’

‘राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ’, थापामगरले भनिन्,‘श्रीमान्ले युट्युब हेर्नुहुन्छ । त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।’

सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब ६ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उनको भनाइ छ । एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उनले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:०१
Weather Update