News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— ‘बिहान ६ बजेदेखि मिसाइल पड्किन थाले । त्यसपछि हामी बंकरभित्र भाग्यौं ।’ हमासको आक्रमणमा परी घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौं उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए ।

काँपीरहेका ओठ र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए । आफ्नै अगाडि कयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले आफू बाँचेको  नै सपना जस्तो लागेको छनक दिइरहेका थिए ।

‘बिहान ६ बजेदेखि मिसाइल पड्किन थाले । त्यसपछि हामी बंकरभित्र भाग्यौं । ८ बजेतिर एक्कासी त्यहाँ हमासको आक्रमण भयो । २ जान साथीलाई गन हानेर त्यही मारिदिए ।’ कारुणीक स्वरमा चौधरी बोले ।

Prabhu Bank

हिँड्नै नसक्ने अवस्थाका चौधरीलाई विमानस्थलका कर्मचारीले ह्वीलचियरको सहायतामा विमानस्थल बाहिर ल्याएका थिए । लामो हवाई यात्रा, घाइते शरीर त्रासदीपूर्ण समयको साक्षीबन्दाको सन्नाटा आँखामा प्रष्ट झल्किन्थ्यो ।

सञ्चारकर्मी कसैले पनि उनको अवस्था देख्दा प्रश्न सोध्न सक्ने अवस्था थिएन् । पत्रकारकै पनि आँखा रसाएका थिए ।  घटनाबारे चौधरीले बोलिरहेका थिए निरन्तर ‘एकछिन पछि हेर्दा कोही साथीहरूको खुट्टा नै थिएन् । कसैको के थिएन् । एकछिन पछि इजरायली प्रहरी आएर घाइते नभएकालाई अर्को बंकरमा लग्यो । हामीलाई पुरानै बंकरमा राखियो । त्यहाँ आक्रमण भएन  । त्यसैले म बाँचे ।’ श्वासले मात्रै बोलेका चौधरीले अरु साथीहरू गुमाउनेको पीडा पोखे । 

‘कति साथीहरू ओभर ब्लिडिङ भएर मरे । समयमा उपचार पाएको भए बाँच्थे,’उनी भन्छन् । घटना भएको ९ घण्टापछि मात्रै रेस्क्यू टोली पुगेको बताएका उनले अहिले पनि त्यो कहाली लाग्दो घटना बिर्सन सकेका छैनन् । 

सपनामा पनि त्यही गोली लागेका साथीलाई नै देख्ने गरेको बताए । ‘९ घण्टापछि रेस्क्यू टोली आयो । दोस्रो बंकरमा आक्रमण भयो त्यहाँ धेरै साथीहरू मरे । मिसिङ छन् साथीहरू उनीहरूलाई खोज्दिनु होला । साथीहरूको धेरै याद आउँछ । म सुत्न पनि सक्दिनँ । सपनामा देख्छु,’ काँपेको र गलित स्वरमा चौधरीले अनुरोध गरे,‘मेरो साथीलाई खोज्दिनु पर्‍यो ।’

घर फर्किन चाहने नेपालीलाई लिन सरकारी निर्णयअनुसार विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए । विमानमा धनबहादुरसहित २५४ जना आफ्नो जन्मथलो फर्किएका छन् ।

घर फर्किन पाउँदाको खुसी ओठमा देखिए पनि आँखामा त्रासदीपूर्ण समयको बादल फाट्न बाँकी भए झै देखिन्थ्यो । आफन्त आउने खबरपछि विमानस्थल पुगेकाहरूले अंकमाल गर्दै हर्षका आँसु बगाए पनि फर्किएका धनबहादुर जस्तै अरुको पनि एउटै चाहना छ— विदेशमा भएका अरु साथीहरू पनि सकुशल फर्किऊन् । हराइरहेका साथी विपिन जोशी चाँडै सम्पर्कमा आउन र घर फर्किऊन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:३७
Weather Update