
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई उम्मेदवारले मुख्यमन्त्री दाबी गरेर सहयाेग मागेका बेला राप्रपाले कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले भने,‘दुई जनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन ।’
माओवादीका प्रदेश सभा सदस्य इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।
मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ ।