
काठमाडौं— सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायत मर्मत सुरु गरेको छ ।
वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ ।
मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर(सीडीइ)नातिबाबु खड्काले बताए ।
साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले बताए ।
विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ ।
उनले भने,‘वर्षा सकिनासाथ दसैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ ।’
यो वर्ष दसैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दसैँमा सडक राम्रो अवस्थामा पुग्ने उनले बताए ।
मर्मतको काम सुरु भइसकेको उनले जानकारी दिए । उनले भन,‘सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ दसैँअघि सबैतिर भइसक्छ होला ।’
राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन् ।
सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताए ।
कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उनले भने,पुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन ।’
सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम सुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उनको भनाइ छ ।
वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाएइको छ ।
कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ ।













