
म्याग्दी— यसअघिका वर्षमा सोह्रश्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।
‘पोहोरपरार सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ’,उनले भने,‘भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।’
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्रश्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्रश्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।
‘यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्’, उनले भने,‘औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।’
सोह्रश्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्रश्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्रश्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ ।













