
झापा— कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौर्य ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।
चार वर्षअघि ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यानल जडान हुनेछ ।
झिलभिले चोकबाट करिब ७ किलोमिटर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले बताए। परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्यानल जडान हुनेछ ।
बिर्तामोड नगरपालिका प्रमुख तथा परियोजना सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईँले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् ।













