News Griha :: न्यूजगृह
कोइराला समूहको ‘विद्रोह’ बारे निर्णय लिन कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

विराटनगर— मुख्यमन्त्री दाबीमा गठबन्धनको निर्णयविरुद्ध गएका सांसदबारे निर्णय लिन कांग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा शेखर पक्षले गरेको ‘विद्रोह’ बारे छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टी निर्णयविरुद्धको घटनालाई गम्भीररूपमा लिएर शुक्रबार बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बोलाइएको कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राईले बताए । उनले एमालेसँग मिलेर मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई साथ दिएका अन्य सांसदलाई के गर्ने भनी निर्णय लिइने बताए ।

राईले थपे, ‘सभापतिले प्रस्ताव ल्याउनु होला । प्रस्तावमा छलफल गरेर निर्णय हुन्छ । पहिला सच्चिने र फिर्ता हुने समय दिइने छ ।’ कोशी प्रदेश सभामा रहेका कांग्रेसका ८ सदस्यले एमालेसँग समीकरण बनाई केदार कार्कीलाई मुख्यमन्त्री दाबी गरेका छन् । पछि हिमाल कार्की पनि मिसिएपछि यो संख्या ९ पुगेको छ ।

गठबन्धनले भने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने कार्कीले बताए । कांग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापाले भने पार्टी नीतिविपरीत उभिनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:५०
Weather Update