
विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आआफ्नै तर्क प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेश सभा सदस्यहरू स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।
सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए ।
उनले कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।
यसैबीच, सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।
मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रुपमा विज्ञहरूसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको बताएका हुन् ।