News Griha :: न्यूजगृह
कोशी प्रदेश : माओवादीले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदको विरोध 

विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।

शेखर कोइराला पक्षका ८ जना प्रदेश सभा सदस्यले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै निवेदन दिएका छन् ।

निवेदन दिएका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङ्बोले पनि उनीहरूकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।

कोशी प्रदेशमा कांग्रेसका २९ जना सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् । केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:०५
Weather Update